काठमाडौं । अब बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुले बिनाधितो ३ लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाउने व्यवस्था गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।
‘सहकारी संस्थाले प्रतिसदस्य प्राथमिक पूँजीकोषको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्ने छैन । संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण प्रवाह गर्न सक्नेछ,’ मस्यौदामा भनिएको छ, ‘यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्नेछ ।’
राष्ट्र बैंकले अब स्थापना हुन लागेको सहकारी नियमन प्राधिकरणलाई नियमन र सुपरीवेक्षणका लागि उक्त मस्यौदा तयार पारेको हो । राष्ट्र बैंकले सहकारी ऐनमा भएको संशोधनलाई समेट्दै निर्देशन तथा मापदण्ड जारी गरेको हो । राष्ट्र बैंकले मस्यौदामा सरोकारवालासँग माघ मसान्तभित्र लिखित तथा इमेलमार्फत सुझाव दिन माग समेत गरेको छ ।
त्यस्तै, मस्यौदामा बचतको सीमा, कर्जाको वर्गीकरण, पूँजीकोष सम्बन्धी व्यवस्था, संस्थागत सुशासन र सदस्य संरक्षणसम्बन्धी व्यवस्था गरिएको छ । मस्यौदामा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले सदस्यभन्दा बाहिर कारोबार गर्न नपाइने, १० लाखभन्दा माथिको कारोबारमा अनिवार्य स्रोत खुलाउनुपर्ने, कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड) ६ प्रतिशत कायम गर्नुपर्ने, कुल निक्षेपको बढीमा ९० प्रतिशत मात्र कर्जा दिन पाइने लगायत व्यवस्था गरिएको छ ।
मस्यौदामा संस्थाले सदस्यता लिएको न्यूनतम ३ महिना नपुगेका सदस्यलाई ऋण लगानी गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋणबाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने व्यवस्था गरिएको छ ।
‘सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋणबाहेक कुनै प्रकारको थप ऋण लिन पाउने छैन । संस्थाले इजाजतप्राप्त सहकारी बैंक र साना किसान लघुवित्त संस्थाको सेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्नेछ । यसबाहेक अन्य कुनै संस्थाको सेयर/डिबेन्चरमा लगानी गर्न पाइने छैन,’ मस्यौदामा भनिएको छ ।
सहकारी संस्थाले घरजग्गा धितोमा ऋण लगानी गर्दा धितो मूल्यांकनको बढीमा ६० प्रतिशतसम्म मात्रै लगानी गर्न सक्नेछन् । ‘संस्थाले सदस्यको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्नेछ । संस्थाले अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा महा/उपमहानगरपालिकामा रहेको धितो मूल्यांकनका बढीमा ५० प्रतिशतसम्म र नगर/गाउँपालिकामा रहेका धितोका हकमा बढीमा ६० प्रतिशतसम्म ऋण प्रदान गर्न सक्नेछ,’ मस्यौदामा भनिएको छ ।’
त्यसैगरी, सहकारीले प्रवाह गरेको ऋणलाई किस्ता तथा ब्याज भुक्तानी अवधिका आधारमा वर्गीकरण गरिएको छ । ३ देखि ६ महिनासम्म भाका नाघेका ऋण कमसल, ६ देखि १२ महिनासम्म भाका नाघेका ऋणलाई शंकास्पद र १२ महिनाभन्दा बढीको भाका नाघेका ऋणलाई खराब भनी वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, असल कर्जामा एक प्रतिशत न्यूनतम ऋण नोक्सानी व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ । कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत ऋण नोक्सानी व्यवस्था गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।
संस्थाले ऋणी सदस्य स्वयं वा निजको एकाघर परिवारको धितोमा मात्र ऋण प्रवाह गर्नुपर्नेछ । यो निर्देशन जारी हुनुअघि सदस्य स्वयंको वा निजको एकाघर परिवारको धितोबाहेक तेस्रो पक्षको धितोमा प्रवाह भएको ऋणलाई २०८३ असार मसान्तसम्ममा नियमित गरिसक्नुपर्ने व्यवस्था मस्यौदामा छ । संस्थाले ऋणी सदस्यलाई परियोजनाको सुरक्षणमा प्रवाह गरिएका ऋणमा कुल परियोजना लागतको ८० प्रतिशतसम्म मात्र किस्ताबन्दीमा ऋण प्रवाह गर्न सक्नेछ ।
‘संस्थाले आफ्ना सदस्यहरूको सदस्यताबापतको सेयर धितोमा ऋण प्रवाह गर्न पाउने छैन,’ मस्यौदामा भनिएको छ, ‘संस्थाले ऋणीको सम्पत्ति धितो राखी अन्य निकायबाट ऋण लिँदा ऋणीले संस्थाबाट लिएको ऋण रकमभन्दा बढी ऋण लिन पाउने छैन ।’ अब सहकारीले खराब ऋणको वर्गीकरण गर्नुपर्ने र खराब कर्जाबापतको व्यवस्था गर्नुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ ।
सहकारी संस्थामा न्यूनतम पूँजीकोष कायम नभएसम्म लाभांश घोषणा तथा वितरण गर्न पाउने छैनन् । संस्थाले एउटा छुट्टै साधारण जगेडा कोष खडा गरी प्रत्येक वर्ष खुद मुनाफाबाट कम्तीमा २५ प्रतिशत रकम थप गर्दै जानुपर्नेछ । संस्थाले नियमनकारी निकायको स्वीकृति नलिई साधारण जगेडा कोषमा जम्मा भएको रकम झिक्न वा खर्च गर्न पाउने व्यवस्था मस्यौदामा छ ।
मस्यौदामा सम्पत्ति खरिद तथा निर्माण गर्दा साधारण सभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ । सम्पत्ति खरिद तथा निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।