काठमाडौँ । काठमाडौंमा गुड्ने झण्डै एकतिहाई सवारीसाधन प्रदूषण मापदण्ड विपरीत संचालन भइरहेको भेटिएको छ ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले, ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यका सोमबार गरेको सवारी साधनहरूको प्रदूषण जाँचमा यस्तो पाइएको हो ।
डिजेलबाट चल्ने २० वटा सार्वजनिक सवारीसाधनको प्रदूषण जाँच गर्दा ६ वटा मापदण्ड बाहिर भेटिएका हुन् । यस आधारमा ३० प्रतिशत सवारी प्रदूषण मापदण्ड विपरीत चलेको पाइएको हो ।
माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठूला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीनपाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुईपाङ्गे्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयू) हुनुपर्छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।