झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा दुई महत्त्वपूर्ण आयोजना उद्घाटन गर्दै जनताको अवस्था परिवर्तन हुने प्रक्रियालाई गति दिएको बताएका छन्।
प्रधानमन्त्रीले झापाको गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतका जग्गाधनीलाई दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्यक्रमको शुभारम्भ गर्दै ‘व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन हुँदै गएको’ स्पष्ट पारे।
साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीलाई लामो समयदेखि प्रमाणपूर्जा नपाएर समस्या झेल्नुपरेकोमा सरकारले पहल गर्दै समस्या समाधान गरेको उनको भनाइ थियो।
उनले मुलुकमा अस्थिरता मच्चाउने र सरकार ढल्ने अफवाह फैलाउनेलाई जवाफ दिँदै संयुक्त सरकारले जनताको समस्याको समाधान गर्न सधैँ प्रतिबद्ध रहेको जनाए।
साथै, नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने सम्झौताप्रति पनि प्रधानमन्त्री ओलीले पुनः प्रतिबद्धता जनाए।
यस्तै, प्रधानमन्त्री ओलीले दमक नगरपालिका-३ स्थित बेलडाँगी खानेपानी आयोजनाको पनि उद्घाटन गरेका छन्। उनले २०३० सम्म सबै नेपालीलाई गुणस्तरीय खानेपानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउँदै विकास निर्माणका अधुरा कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। “देश बनाउन सबै एकताबद्ध हुनुपर्छ। बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने व्यवहारले देश बन्दैन,” उनले भने।
५० करोड ७ लाख ९२ हजार लागतमा निर्माण गरिएको सो आयोजनाबाट दमक नगरपालिकाका ६,५२१ घरधुरीका २६,७४३ जनसङ्ख्या लाभान्वित हुनेछन्। कार्यक्रममा स्थानीय जग्गादातालाई सम्मान गरिएको थियो।
प्रधानमन्त्री ओलीले केही दिनअघि दमकमा निर्मित १८ तले व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै स्थानीय आर्थिक गतिविधिलाई गति दिने योजना पनि अघि सारेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।