काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी-० खोला आयोजनामा ६ वटा वाणिज्य बैंकहरूले लगानी गर्ने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई ६ बैंकले कुल ५ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
ऋण लगानी सम्झौतामा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अन्नपूर्ण पावरका तर्फबाट सीईओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले र बैंकहरूका तर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सीईओ राजेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरे ।
आयोजनमा सिटिजन्स बैंकले १ अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसबीआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड रुपैयँँ लगानी गर्ने छन् ।
आयोजनाको लागत ८ अर्ब १२ करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूबाट जुटाइनेछ ।
आयोजना चार वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।