काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको हो।
बोर्ड अध्यक्ष छनोट प्रक्रिया सुरु भएको १० महिनापछि अन्तिम ३ जनाको नाम सिफारिस भएको हो । अब यिनै अन्तिम ३ जनामध्येबाट मन्त्रिपरिषद्ले एक जना बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
गत पुसमा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ । लामो विवाद र चर्चापछि बोर्ड अध्यक्ष छनोट अन्तिम चरणमा पुगेको हो । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षको टुंगो लगाउने छ ।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले अन्तिम पाँचमा परेकालाई अन्तर्वार्तामा बोलाइए पनि ३ पटकसम्म स्थगित भएको थियो । अन्तिम पटक कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता लागि बोलाएको थियो ।
त्यसयसअघि उनीहरुलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएकोमा छनोट समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ्य भएपछि रोकिएको थियो ।
त्यसअघि उनीहरूलाई लाई दुई पटक अन्तर्वार्ताका लागि बोलाइएकोमा दुवै पटक अनुपस्थित भएका थिए । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तिम चरणमा रद्द गरेको बोर्ड अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि फेरि अघि बढाएका थिए ।
पुष्पकमल दाहल नेतृत्वको सरकारले २०८० माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरी छनोट प्रक्रिया अघि बढाएको थियो ।
सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा.नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियो ।
समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो । समितिले सोही राय अनुसार असार १४ गते प्रक्रिया नै रद्द गरेको थियो ।
समितिले प्रक्रिया रद्द गरेपछि सर्टलिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले असार १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । असोज १८ गते सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।