काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए वैदेशिक व्यापारमा भने सुधार आउन नसकेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांक अनुसार अर्थतन्त्रका सूचकहरूमा क्रमशः सुधार देखिए पनि बजारमा उपभोग्य वस्तुको माग भने झनै घटेको देखिएको हो ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चौथो महिना (साउन–कात्तिक)को वैदेशिक व्यापार तथ्यांकले आर्थिक शिथिलता कायमै रहेको देखाएको हो ।
विभागका अनुसार चालु आवको ४ महिनामा कुल ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ०.१७ प्रतिशत मात्रै धेरै हो ।
मासिक आयातका आधार हेर्ने हो भने कात्तिकमा १ वर्ष यताकै कम आयात भएको छ । यस महिना जम्मा १ खर्ब २३ अर्बको आयात भएको छ । यो गत मंसिर यताकै कम हो ।
चालु आवको असोजको तुलनामा कात्तिकमा आयात ५ अर्बले घटेको छ । असोजमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा कात्तिकमा घटेर १ खर्ब २३ अर्बमा सीमित भएको हो । कात्तिकमा औसतभन्दा कम आयात भएको छ । चालु आवमा मासिक १ खर्ब २८ अर्ब बढीको आयात हुँदै आएको छ ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात घटेको हो । साथै, निर्माण गतिविधि न्यून भएकाले पनि आयातमा असर परेको हो ।
कात्तिकमा चाडपर्वलाई लक्षित गरी आयात बढ्ने अनुमान गरिए पनि झन् घटेको छ । उपभोक्ताको क्रयशक्ति नबढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न सकेको छैन । जसकारण आयात प्रभावित भएको हो ।
निर्यात ४ प्रतिशतले बढ्यो
चालु आवमा आयातसँगै निर्यात पनि बढेको छ । गत वर्षको कात्तिकको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ४.१६ प्रतिशतले बढेको हो ।
यस वर्ष कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब १० करोड रुपैयाँ बढीको निर्यात भएको हो । चालु आवको पहिलो तीन महिना घट्दो क्रममा रहेको निर्यात कात्तिकमा भने बढेको हो । कात्तिकमा मात्रै १४ अर्ब ३० करोड रुपैयाँको वस्तु विदेशिएको हो ।
व्यापार घाटामा झिनो सुधार
गत वर्षको तुलनमा आयात बढे पनि व्यापार घाटामा झिनो सुधार देखिएको छ । चालु आवको गत वर्षकोभन्दा निर्यात केही बढ्दा व्यापार घाटमा थोरैले घटेको हो ।
समीक्षा अवधिमा व्यापार घाटा ०.२६ प्रतिशत अर्थात् १ अर्ब २२ रुपैयाँले घटेको छ । चालु आवको ४ महिनामा नेपालले ४ खर्ब ६० अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा ४ खर्ब ६१ करोड रुपैयाँ थियो ।
कात्तिकसम्म कुल ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको कात्तिककोे तुलनामा ०.५३ प्रतिशतले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।