काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन (३ महिनाको) अनुसार विदेशी मुद्रा संचिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।
गत असार यता विदेशी मुद्रा संचिति ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु।१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग असोज मसान्तसम्म २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ रहेको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा संचिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।