काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको कन्ट्री रेटिङको काम सम्पन्न भइसकेको र प्रतिवेदन चाँडै सार्वजनिक हुने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै उनले कन्ट्री रेटिङको प्रतिवेदनमा नेपालको अर्थतन्त्रको वास्तविकता ठीक ढंगले समावेश हुने विश्वास रहेको बताए ।
उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स, मुद्रास्फीति समेत सीमाभित्रै नियन्त्रणमा रहेको बताए ।उनले राष्ट्र बैंकले अवलम्वन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गरे । अर्थमन्त्री पाैडेलले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताए ।
उनले भने, ‘बैंकहरूमा तरलता राम्रो छ । बैंकिङ ब्याजदर घटेको छ । यी सबै अर्थतन्त्रका सूचकहरूलाई सरकारले सकारात्मक रूपमा लिएकाे छ । नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेका छौं । केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित संस्थाले प्रतिवेदन सार्वजनिक गर्नेछ ।’
अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गरे । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग गर्ने विषयमा राष्ट्र बैंकको ध्यान जानुपर्ने उनको भनाइ छ । उनले समग्र बजारको मागमा कमी हुने, उत्पादन, रोजगारी, आयातनिर्यात, राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उल्लेख गरे ।
उनले समग्र बजार माग वृद्धि गर्ने, उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पुँजीगत खर्च वृद्धि गर्नमा सरकारको ध्यान केन्द्रित भइरहेको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।