काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् ।
विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरूसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकार बीच पुलको काम गर्न खोजिरहेको बताए ।
‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरू समक्ष आग्रह छौ,’ उनले भने, ‘यसमा महामहीमज्यूहरूले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण वन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरूलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे ।
यसैगरी, अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे ।
नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो,’ ढकालले भने ।
ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२ प्रतिशत मात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको विषय हुनुपर्ने उनको धारणा थियो ।
उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरूले सदुपयोग गर्न सक्छन्,’ उनले भने ।
नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने तर्पm पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । ‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन, र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्यौं,’ उनले भने । यी कार्यक्रममा हरेक देशका करिब १५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।
मध्यपूर्वी मुलुकहरूमा नेपाली कृषिजन्य उत्पादनहरूको सम्भावना रहेको औल्याउँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्य मुलुकहरूमा पनि नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध समस्याका रुपमा रहेको बताए ।
यसैगरी, नेपाल अतिकम विकसित मुलुकहरूबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने बताए । यस्तो प्रभाव कम गर्न नवनियुक्त राजदूतहरूको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए ।
छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरूले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको बताए । यसैगरी, निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने बताए । बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने बताए ।
चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल्सेनाले निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।
भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागि हुनुपर्ने बताए । भारतसँगको समस्या के छन्, ती विषय लिखित रुपमा दिन आग्रह गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।