काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरेका हुन् । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु ३ करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा १ अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।