add

कोशीका मुख्यमन्त्री कार्कीलाई दोस्रो पटक विश्वासको मत






ActPro Nepal

|

३ असोज, २०८१

|
78

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्।

बुधबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६६ सांसदले समर्थन जनाए। १५ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए। मत दिन्न भन्नेमा शून्य मत परेको छ। मतदानमा ८३ सांसदले भाग लिएका थिए।

नेकपा माओवादी केन्द्रको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। माओवादी केन्द्रले भदौ १४ गते विश्वासको मत फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिएका हुन्।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन्। सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसद आवश्यक पर्थ्यो। कोशीमा सत्तारुढ दलहरू नेकपा एमालेका ४० र कांग्रेसका २९ गरी सत्ता पक्षमा ६९ जना सांसद छन्।

कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.