काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।
बुधवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताएका हुन्।
उनले भने,’ प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना-आफ्ना मतभेद होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन। त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो।’
देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै उनले चुनौतीलाई बुझेर कर्मचारीले काम गर्न आवश्यक रहेको बताए।
उनले एमाले र काँग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको उल्लेख गरे।
उनले यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
उनले अगाडि भने, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ। कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ। यसमा चिन्ता लिनुपर्दैन। मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।