काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ।
मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो।
पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिए।
त्यसैगरी कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ।
सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए।
बैठक भोलि बिहान ११ बजेका पुनः बस्नेछ। आज बैठकमा पेश गरिएको महासचिव पोखरेलको वार्षिक कार्ययोजनामाथि छलफल गर्न सो बैठक बोलाइएको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ। विभागका प्रमुख गौतमले सो बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।