भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य हुँदैन : रास्वपा






ActPro Nepal

|

२९ साउन, २०८१

|
69

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भ्रष्टाचारसम्बन्धी कानुनबारे पार्टीको धारणा बनाएको हो ।

भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने उनको भनाइ छ । निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरूले गम्भीर त्रुटि गरिरहेको उनले बताए ।

'भ्रष्टाचारसम्बन्धी कानुन जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए चल्नुपर्छ,' परियारले भने, 'निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटि गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई पनि बेजोडका साथ सदनमा उठाउने।’

पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने परियारको भनाइ छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्ने गरी छलफल भइरहेको उनले बताए ।

‘एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ,' परियारले भने, 'जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदै छ र सम्भवतः आज नै दर्ता गर्नेछौँ हामी ।

रास्वपाले विद्युत महसुलको वक्यौता उठाउने कुरा पनि संसदमा उठाउने भएको छ । 'संसदको गतिविधिमा हामीले नेपाल विद्युत् प्राधिकरणको वक्यौतासम्बन्धी मुद्दा जोडतोडका साथ उठाउने र त्यो वक्यौताको विषयमा अरु केही हुनु हुँदैन । राज्यले पाउनुपर्ने कुरा उठाउनुपर्छ भन्ने हाम्रो धारणा छ,' उनले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरूले बोल्दा समर्थनमा बोल्ने बारेमा पनि छलफल भएको उनले बताए ।

'संसदको कानुन समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधिसभामा प्रस्तुत गर्ने भनिएको छ, त्यसमा पनि छलफल चलायौँ,' परियारले भने, 'आगामी दिनमा संसदको गतिविधिहरू कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरूमा पनि छलफल भयो । सर्वसहमतिले अघि बढाउने र संक्रमणकालीन न्यायका बारेमा नेताहरू बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ ।'

बैठकमा आगामी दिनमा संसदको गतिविधिहरू कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरूमा पनि छलफल भएको परियारले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.