काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसलाई नयाँ ऊर्जा, नवीन सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भट्टले बताएका छन् । उनले पार्टीभित्र परिवर्तनको चाहना, कार्यकर्ताको विश्वास र अग्रज पुस्ताको अनुभवलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्दै भट्टले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन प्राप्त रहेको उल्लेख गरेका छन् । उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको बताएका छन् ।
भट्टले आफूलाई कांग्रेसको ‘जरा’सँग तुलना गर्दै पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने बताएका छन् । “म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्,” उनले भनेका छन् ।
उनका अनुसार आफ्नो उम्मेदवारी कुनै एक पुस्तामा मात्र सीमित छैन । ‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने माध्यम बन्न चाहेको उल्लेख गर्दै उनले परम्पराको सम्मान र परिवर्तनको चाहनालाई सँगसँगै अघि बढाउने लक्ष्य राखेका छन् ।
“अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो,” भट्टले भनेका छन् ।
कांग्रेसलाई कार्यकर्ताले चाहेजस्तो पार्टी बनाउन आफूले भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । साथै, १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूको माया, विश्वास, साथ र शुभेच्छामार्फत अनुमोदन गरिदिन उनले अपिल गरेका छन् ।
भट्टले आफ्नो उम्मेदवारीलाई पार्टीमा नयाँ सोच, पुस्ताबीचको सहकार्य र जिम्मेवार नेतृत्व विकास गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।




Comment