काठमाडौं । संघीय संसद्का तीन समितिको बैठक बिहीबार बस्दैछन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ। बैठकमा एम.डी.एम.एस, टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।
यस्तै राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहान साढे १० बजे बैठक बोलाएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका आयोजनाको अवस्थाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ।
मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक/वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाबारे छलफल हुन लागेको हो।
राष्ट्रियसभाकै विधायन व्यवस्थापन समितिले आज विधायनसम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने कार्यसूची तय गरेको छ। बैठक दिउँसो १ बजे बस्नेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।