काठमाडौं । लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। युद्धविराम आइतबारबाट कार्यान्वयनमा आउनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्।
६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुनेछ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।
हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए।
सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ। डेर अल-बलाह र खान यूनिशबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ। अन्यत्र इजरेली हमला भएका विवरण समेत छन्।
इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ।
इजरेली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष ‘निकै पीडादायी’ भए तापनि यो सही कदम भएको बताएका छन्। हमासका मुख्य वार्ताकार खलिल अल-हयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन्।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १ हजार २०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।
त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजार भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।