काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज (बिहीबार) नेपाल भ्रमणमा आउने भएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारतीय वायु सेनाको विशेष विमानबाट आज बिहान १० बजे विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएकोे छ । उनी दुई दिन नेपाल बस्ने कार्यतालिका छ । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि सम्झौताको तयारी छ ।
विदेशमन्त्री जयशंकर भोलि साँझ स्वदेश फर्किने छन् । त्यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।