add

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै






ActPro Nepal

|

१६ पुष, २०८०

|
168

काठमाडौँ । नेपाली कांग्रेसले आज (पुस १६ गते, सोमबार) राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ। 

पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा कांग्रेसे हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाइँदै आएको छ। 

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार प्रज्ञा भवन कमलादी विशेष कार्यक्रम आयोजना गरेको छ। दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ। 

कांग्रेसले संविधान लेखनमा संलग्न राजनाीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ। 

आफूविरुद्धकका ८ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर भएको सन्देशसहित बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएका थिए। 

२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब ८ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। 

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४७ वर्ष अघि आजकै दिन स्वदेश फर्किएका हुन्। देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्किएका हुन्। 

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब ३ महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो। 

८ वर्षपछि विसं २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाकाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए। राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए। 

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भइ कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो। यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो।

२४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ। सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास,  ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए। 

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो। कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन्। विसं २०३३ पुस  १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.