काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन् । संघीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नुपर्छ । प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ,’ श्रेष्ठले भने, ‘संविधानमै भएको व्यवस्थालाई आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी हो । अध्यादेशबाटै भए पनि कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।’ बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकाबारे नेताहरूले चिन्ता व्यक्त गरेको उनको भनाइ थियो ।
समाजवादी मोर्चालाई प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको उल्लेख गर्दै श्रेष्ठले यसलाई थप निरन्तरता दिनुपर्ने सुझाव आएको पनि बताए । ‘अहिले मोर्चा विस्तारको क्रममा प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको हाम्रो ठहर छ,’ उनले भने ।
नेता श्रेष्ठले बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसासमेत गरे । अहिले सरकारको तर्फबाट भ्रष्टचारविरुद्धका काम इतिहासमै धेरै भएका भन्दै मोर्चाले सरकारको यस कदमका लागि धन्यवाद ज्ञापन गरेको उनले बताए ।
नेता श्रेष्ठले अब मोर्चाले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताका सन्दर्भमा उठेका सवाललाई चिर्नेगरी कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, ‘मोर्चाले जिल्लामा गठन हुन बाँकी सबै जिल्ला संयोजक समिति गठन गर्ने तथा मुख्य सहरमा विविध कार्उक्रम गर्नेलगायत योजना बनाएको छ ।’
मोर्चालाई नयाँ ढंगबाट अघि बढाउने विषयमा पनि छलफल भएको उनको भनाइ थियो । मोर्चाको बैठक साँझ ६ बजे पुनः बस्ने गरी टुंगिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।