add

व्यावहारिक सीप दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै






ActPro Nepal

|

२४ मंसिर, २०८०

|
177

तनहुँ । व्यास नगरपालिका-१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन । पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन ।

विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूर्ण बनेका हुन । ‘सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ’, लामिछानेले भने, ‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’

लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल भएका छन । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, ‘सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’

विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक ध्रुव भण्डारीले जानकारी दिए । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । शिक्षक भण्डारीले भने, ‘वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।’

विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए ।

समाजमा चलिआएका पुख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ।

पुख्यौली सम्पत्तिको संरक्षण एवम् सम्बर्द्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो । कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ ।

विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए । ‘नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्’, प्रधानाध्यापक कोइरालाले भने । 

‘सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ’, प्रधानाध्यापक कोइरालाले भने, ‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।’

कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ ।विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ ।

विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन । कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ ।

समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.