काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको बिदाइका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए ।
प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दुबइतर्फ प्रस्थान गरेका हुन । आज बिहीबारदेखि कोप–२८ दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहाल मंसिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन् । उनले १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्धन गर्न ‘पर्वतको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दैछन् ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा आएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नेछन् । अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु छन् । प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।