चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’
दुर्गा प्रसाईंको गणतन्त्रविराेधी आन्दोलनपछि कांग्रेस सभापति देउवाले यस विषयमा मौनता तोडेर मुख खोलेका हुन् । उनले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’
सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ,’ उनले भने, ‘यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थिययो ।
गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।’ संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशंका हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ,’ कोइरालाले भने ।
अर्काे प्रसंगमा कोइरालाले नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।