कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताएका छन ।
उनले घर-घरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले बस्ती विकासको योजना आवश्यक भएको उल्लेख गरे ।
प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा तथा आयोजना बैंक सञ्चालनसम्बन्धी अन्तरक्रियाका क्रममा उनले अहिलेको विकासको योजनाले लक्ष्यअनुसारको उपलब्धि हासिल गर्ने अवस्था नरहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘बीस घरमा बाटो लैजान २० करोड लगानी गर्दासमेत पक्की हुने अवस्था छैन । बस्ती विकासबारे दोस्रो पञ्चवर्षीय योजनामा पुनःविचार गर्नुपर्दछ, त्यसमा गृहकार्य भएको छ । अब घरमा बाटो लैजाने कि बाटोमा घर ल्याउने त्यो बारेमा बहस जरुरी छ । यस्तै किसिमबाट घरघरमा बाटो लैजाने मोडालिटी लिने हो भने अर्बौँ खर्च गरे पनि बाटो बनाउन सक्दैनौँ ।’
मुख्यमन्त्री पाण्डेले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायनको मानसिकता र प्रवृत्ति बढिरहेकाले बसाइँसराई रोक्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय योजनामा पहिलो प्राथकितामा राख्न आग्रह गरे । प्रदेशलाई आवश्यकभन्दा बढी संरचना समायोजना गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
‘हाम्रो प्रदेशलाई आवश्यकताभन्दा बढी संरचना जसले पाँच वर्ष खासै काम गर्न सकेनन् । त्यसलाई समायोजन गर्ने र प्रदेश सरकार पछिका नयाँ संरचना र पहिला भएका संरचना कमभन्दा कम बनाउँदै काम गर्ने कसरी बनाउने पञ्चवर्षीय योजनामा हुनुपर्दछ’, मुख्यमन्त्री पाण्डेले भने ।
जनताको अहिले पनि सडक, सिँचाइलगायतको माग बढी हुने भएकाले योजनामा त्यस्ता कार्यक्रमलाई समावेश गर्नु चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलका नेता एवम् निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले संघीयतामाथि गम्भीर प्रश्न उठेकाले सरकारमा रहँदा राम्रो काम गर्ने र मन्त्रीहरू फराकिलो बन्नुपर्नेमा जोड दिए । उनले आवश्यकताका आधारमा योजना छनोट गरिनुपर्ने र त्यसका लागि नीति योजना आयोगले रिसर्चको कामसमेत गर्नुपर्ने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।