add

राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोक्न सरकारलाई परामर्श






ActPro Nepal

|

७ मंसिर, २०८०

|
364

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.