add

कुन कुन देशले लगाए टिकटकमा प्रतिबन्ध ?






ActPro Nepal

|

२८ कार्तिक, २०८०

|
216

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटक चलाउन नपाइने मुलुक

अफगानिस्तान

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले सन् २०२२ मा टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाएको थियो । युवालाई ‘बहकिन’ बाट जोगाउन भन्दै तालिबानले प्रतिबन्ध लगाएको हो ।

अस्ट्रेलिया

गत अप्रिल महिनामा अस्ट्रेलियाका सरकारी विद्युतीय उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाको संघीय सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

बेल्जियम

युरोपेली मुलुक बेल्जियममा पनि सरकारको स्वामित्वमा रहेका एवम् सरकारले खरिद गरेका विद्युतीय उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँको सरकारले साइबर सुरक्षा, गोपनीयता र मिथ्या सूचनाको कारण देखाउँदै गत मार्च महिनामा यस्तो निर्णय गरेको हो ।

क्यानाडा

क्यानाडामा पनि सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । गोपनीय र सुरक्षामा ‘अभूतपूर्व’ जोखिम रहेको भन्दै क्यानाडा सरकारले गत फेब्रुअरी महिनामा सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीलाई आफ्नो फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले गत मार्च महिनामा कर्मचारीको विद्युतीय उपकरणमा इन्स्टल गरिएको भए तत्काल हटाउन निर्देशन दिएको थियो । ‘आफ्नो काममा यस एपको प्रयोग सीमित हुने भएकाले’ र ‘सुरक्षालाई मध्यनजर गर्दै’ यस्तो निर्णय गरिएको डेनिस मन्त्रालयको भनाइ छ ।

युरोपेली युनियन

युरोपेली युनियनका तीनवटै निकायहरु युरोपेली संसद्, युरोपेली आयोग र युरोपेली परिषद्ले कर्मचारीहरुका विद्युतीयउपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । युरोपेली संसद्ले सांसदहरुलाई समेत टिकटक नचलाउन भनेको छ ।

फ्रान्स

फ्रान्सले आफ्ना सरकारी कर्मचारीलाई टिकटक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको ‘सिर्जनात्मक’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अपर्याप्त ‘डेटा सुरक्षा’ को चिन्ताका कारण फ्रान्स सरकारले गत मार्च महिनामा यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

भारत

सन् २०२० मा सुरक्षालाई मध्यनजर गर्दै भारत सरकारले टिकटक र अन्य दर्जनौँ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । दुई मुलुकको सीमास्थित गलवान क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएसँगै भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको हो ।

लात्भिया

पूर्वी युरोपेली मुलुक लात्भियाको विदेशमन्त्री एजर्स रिन्केभिक्सले गतमार्च १ मा ट्विट गर्दै आफूले टिकटक एप डिलिट गरेको घोषणा गरेका थिए । उनले आइन्दा विदेश मन्त्रालयका कर्मचारीले समेत टिकटक प्रयोग गर्न नपाउने घोषणा गरेका थिए ।

नेदरल्याण्ड्स

नेदरल्याण्ड्सको सरकारले कर्मचारीहरुको विद्युतीय उपकरणमा टिकटकजस्ता एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ । डच सरकारले टिकटकको नाम नै उल्लेख नगरेको भएपनि सरकारी कर्मचारीहरुलाई ‘नेदरल्याण्ड्स वा डच हितविरुद्ध साइबर कार्यक्रम रहेका मुलुकहरुका एपको प्रयोगमा निरुत्साहन गरिने’ जनाइएको छ ।

न्यूजिल्याण्ड

न्यूजिल्याण्डमा सांसद तथा संसदका कर्मचारीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । साइबर सुरक्षा विज्ञहरुको सल्लाहअनुसार संसदमा आबद्ध व्यक्तिहरुलाई टिकटक प्रयोग गर्न बन्देज लगाइएको हो । यद्यपि लोकतान्त्रिक कर्तव्य पालनाका लागि टिकटकको प्रयोग गर्नैपर्ने अवस्था आएमा विशेष व्यवस्था भने गर्न सकिने प्रावधान तोकिएको छ ।

नर्वे

नर्वेको संसदले कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँको न्याय मन्त्रालयले पनि सरकारी कर्मचारीहरुको फोनमा टिकटक इन्स्टल भएको भए तत्काल हटाउन चेतावनी दिएको छ । त्यसबाहेक राजधानी ओस्लो र दोस्रो ठूलो महानगर बेर्गनले पनि आफ्ना कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न बन्देज लगाएको छ ।

पाकिस्तान

पाकिस्तानले अक्टोबर २०२० यता टिकटकमाथि चार पटक अस्थायी प्रतिबन्ध लगाइसकेका छन् । अनैतिक सामग्री प्रचार गर्ने गरेको भन्दै पाकिस्तानी अधिकारीहरुले टिकटकमाथि बेला बेला प्रतिबन्ध लगाउँदै आएका छन् ।

ताइवान

ताइवानले सन् २०२२ को डिसेम्बरयता जनस्तरमा नै टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ताइवानमा सरकारी विद्युतीय उपकरणहरुमा चिनियाँ सफ्टवेयरमाथि बन्देज लाग्दै आएको छ ।

बेलायत

बेलायतमा गतमार्च महिनामा सरकारका मन्त्रीहरु एवम् सरकारी कर्मचारीहरुले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा पूर्ण बन्देज लगाइएको छ । सुरक्षाका कारण देखाउँदै यस्तो प्रतिबन्ध लगाइएको हो । त्यसैगरी, त्यहाँको संसदले पनि स्टाफहरु र कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न प्रतिबन्धलगाएको छ । स्कटल्याण्डको अर्धस्वायत्त सरकार र लण्डन सिटी हलले पनि आफ्ना कर्मचारीहरुको विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । बेलायती प्रसारण संस्था बीबीसीले पनि आफ्ना कर्मचारीहलाई कर्पोरेट उपकरणबाट टिकटक हटाउन आग्रह गरेको छ ।

अमेरिका

अमेरिकी संघीय सरकारले सरकारी निकायका विद्युतीय उपकरण एवम् सञ्चार प्रणालीमा इन्स्टल भएका टिकटक हटाउने घोषणा गरेको छ । सरकारी उपकरणमा मात्रै टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको भएपनि राजनीतिक दलका केही प्रतिनिधिहरुले यस एपलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन् । त्यसबाहेक अमेरिकाका ५० मध्ये आधाभन्दा धेरै राज्यहरुले आफ्नो मातहत एवम् कर्मचारीहरुको स्वामित्वमा रहेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । त्यसैगरी अमेरिकी संसद र अमेरिकी सेनाको स्वामित्व एवम् कर्मचारीहरुको उपकरणमा पनि टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.