जाजरकोट । शुक्रवारको भूकम्पबाट पीडित सर्वसाधारणलाई चिसो र हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्।
विगतका अनुभवबाट सिकेर जाजरकोटमा भएको क्षतिलाई पुनःनिर्माण अभियानमा आफूहरु लाग्ने भएकाले त्यो काम अप्ठयारो नभएको उनको भनाइ थियो।
पुनःनिर्माण अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्त्वपूर्ण हुने समेत उनले बताए। उनले तत्काल राहत व्यवस्थापनको कुरा नै महत्त्वपूर्ण भएको बताए।
राहत सामग्री ल्याउन ठूलो हेलिकप्टर प्रयोग गर्न खोजे पनि अवतरणमा समस्या भएको उनले बताए। ठूलो खालका ढुवानीका साधनसमेत पालिकाको मुकाममा पुग्न सक्ने अवस्था नभएकोले राहत समयमै व्यवस्थापन गर्न ढिला भएको उनको भनाई छ। सानो हेलिकोप्टर प्रयोग गर्दा राहत सामग्री थोरै परिमाणमा ढुवानी भएको जानकारी उनले दिए।
सदरमुकाममा सामग्री आएर सबै ठाउँका परिचालन गर्न एकै पटक पठाउन खोजे पनि पठाएको सामग्री जाम भएपछि समस्या आएको उनले बताए।
सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्न समय लागेको उनले बताए। वडाध्यक्ष आफैँले नै सबै ठाउँमा बाँड्न खोज्दा अर्को समस्या आएको मन्त्री बस्नेतले बताए।
वडासदस्यहरुलाई समेत परिचालन गर्नुपर्नेमा वडाध्यक्ष नै सर्वेसर्वा भएपछि राहत पीडितसम्म पुग्न समय लागेको उनको बुझाई छ। भूकम्पको केन्द्र बारेकोटमा भए पनि ठूलो क्षति भेरी नदीको किनारमा देखिएपछि समस्या भएको पनि मन्त्री बस्नेतको भनाई थियो।
राहत सामग्रीभन्दा पनि धेरै समस्या ढुवानीको भएको उनको भनाई छ। खाद्यान्नभन्दा त्रिपालको समस्या बारेकोटमा बढी रहेको उनले बताए। बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री बस्नेतले यस्तो बताए।
जाजरकोट र रुकुममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माण गरिने उनले समितिलाई जानकारी गराए। पुनःनिर्माण तथा पुनःस्थापना त्यति ठूलो नहुने उनले बताए।
धेरै चिसो भए पीडितलाई अस्थायी सेन्टर स्थापना गरि त्यसैमा व्यवस्थापन हुने जानकारीसमेत उनले दिए। दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह सुझाव दिने र हौसला दिने सबैलाई जाजरकोट जिल्लाको प्रतिनिधिको हिसाबले धन्यवादसमेत मन्त्री बस्नेतले दिए।
सुरक्षाकर्मी मित्रहरुले योगदानलाई भुल्नै नसक्ने सहयोग भएको भन्दै विशेष धन्यवाद दिए। समस्या र अप्ठ्यारो समयमा राजनीतिक स्वार्थ कतै पनि राख्न नहुने उनले सचेत गराए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।