add

अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता हो : प्रधानमन्त्री दाहाल






ActPro Nepal

|

१५ कार्तिक, २०८०

|
247

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजस्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ ।’

अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ ।’

नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै उनले परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने जनाए । प्रधानमन्त्री दाहालले भने, ‘नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ ।’

लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने उल्लेख गर्दै उनले नीति कार्यक्रम तथा बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकठाउँ उभिएर त्यसलाई परास्त गरिने जनाए ।

प्रधानमन्त्री दाहालले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.