add

मुलुकको आर्थिक अवस्था सुधार्न एकजुट हुनुपर्छ : ओली






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
165

कास्की  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा सोमबार पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भने, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।”

कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको उनको भनाइ छ । उनले भने, “पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन ।”

वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको बताए।

एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा एमाले पार्टीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुसमेत उनले जोड दिए। एमालेका पालामा विकास निर्माणका काम धेरै भएको दाबी गर्दै अध्यक्ष ओलीले वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ, गाउँगाउँमा सडक बाटो, शिक्षा–स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको बताए ।

आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष ओलीले कम्बोडियामा आफ्नो लगानी नभएको र त्यो भ्रम छर्न रचिएको प्रपञ्च भएको बताए। सुन तस्करी काण्डमा मुछिएकालाई कानुनी दायरामा ल्याउनसमेत उनले जोड दिए।

पार्टीका उपाध्यक्ष रामबहादुर थापाले एमाले समाजवादको बाटोमार्फत देश र जनताको समृद्धितर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उहाँले एमालेको दसौँ महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको विश्वास दिलाए ।

नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्ने थापाको भनाइ थियो । सो अवसरमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहणसमेत गराइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.