काठमाडौँ। दसैँ टीकाको आज दोस्रो दिन । विजयादशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् ।
दशैँको मुख्य दिन विजयादशमीमा भेट्न र जान नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् ।
टाढा रहेका आफन्त तथा मान्यजनहरू कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउजाउ गर्नेहरूको चहलपहल जारी छ ।
नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।
घटस्थापनाका दिन दसैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजाआराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।
आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।