काठमाडौं । नवरात्रको आठौँ दिन, आज महाअष्टमी ।
दुर्गा भवानीको पूजा गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
महाअष्टमीका दिन नवदुर्गाका रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री तथा पार्वतीका विभिन्न स्वरूपहरूको पूजाआराधना गरी बोका, कुखुरा, हाँस, खसी, राँगो आदिको बलि दिइन्छ ।
विशेषगरी आज बोका, राँगा, परेवा, हाँस र भेडाको पञ्चबलि दिने प्रचलन छ । पशुबलि नदिनेहरूले नरिवल, कुभिन्डो, केरा, घिरौँला आदि वनस्पतिको बलि दिन्छन् ।
हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपा दुर्गा भवानीको पूजाअर्चना र हर्षबढाइँका साथ ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
दसैँघरमा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहितका नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ । साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी पूजा गर्ने प्रचलन छ ।
हनुमानढोकाको दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गरिन्छ ।
काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्छ ।
यसैगरी, उपत्यकाबाहिर नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्नेको घुइँचो लाग्छ ।
शक्तिका उपासकका निम्ति आज उत्तम दिन हो । आज महाकाली भगवतीको विशेष उपासना गरिन्छ । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु–कैटभको बध गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरेका थिए, तिनै देवीलाई महाकाली, भद्रकाली आदि नामले पुकारिन्छ ।
देवीभागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली देवी भद्रकाली महाअष्टमीकै दिन उत्पन्न भएकी थिइन् । त्यसैले, यस दिन सोह्र सामग्रीले उनको पूजा गरिन्छ ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले पनि यसको विशेष महत्व रहेको छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रीय मत छ ।
दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा यससम्बन्धी चर्चा भेटिन्छ । यद्यपि, बलिको शास्त्रीयताका सम्बन्धमा हरेक साल दसैँको समय अनेक चर्चा र बहस हुने गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।