मुस्ताङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताएका छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उनले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको बताएका हुन ।
‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो’, प्रधानमन्त्री दाहालले भने, ‘जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पुर्याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताए ।
‘नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’
प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी दिए ।
उनले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताए । जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड मुस्ताङमा खर्च गरिने प्रधानमन्त्री दाहालको भनाइ छ ।
‘गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर ढंग रुपमा लागेको छ ।’
प्रधानमन्त्री दाहालले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राखे । आज मुस्ताङ गएका उनले बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गरेका छन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।