add

उद्योग वाणिज्य संघमा एनजिओकर्मी र जग्गा व्यवसायी उम्मेदवार






ActPro Nepal

|

१८ असोज, २०८०

|
563

काठमाडौं ।  असोज १९ र २० गते हुने ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिवेला साधारणसभा र चुनावी चटारोले समातेको छ । 

४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ठिक यही समयमा अध्यक्षका लागि संघका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पनि उत्रिएपछि चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ ।

वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकार र वर्तमान महासचिव रुपकमान महर्जन चुनावी प्रचारप्रसारमा छन् । प्यानलसहित होमिएका बज्राचार्य र महर्जनसंग प्रतिस्पर्धा गर्न ताम्रकार एक्लै चुनावी दौडमा सामेल भएका छन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका बज्राचार्य पहिले उपाध्यक्ष थिए । सडक बालवालिकाका लागि काम गर्ने साथसाथ नामक गैरसरकारी संस्थामा व्यस्तता गर्दाले बज्राचार्यले यसअघिको कुनै पनि कार्यकाल र अहिलेसम्म पनि संघमा पर्याप्त समय दिन सकेका छैनन् । यो कुरो उनकै प्यानलमा रहेका अहिलेका पदाधिकारीहरुले गुनासो पोख्ने गरेका छन् । उद्यमी व्यवसायीमाझ खासै घुलमिल नभएका बज्राचार्यले अहिलेसम्म व्यवसायीको हकहीतका पक्षमा कहीकतै बोलेका छैनन् । ‘एक जागिरदारले व्यवसायीको संस्थामा अध्यक्षको उम्मेदवारी दिने कुरो नैतिक हिसाबले मिल्दैन ।’ आम उद्यमी व्यवसायीहरुमाझ यस्तै कुरो अहिले सर्वत्र उठिरहेको छ ।

एक समय व्यवसायमा आबद्ध भएको हिसाबले प्राविधिक रुपमा उम्मेदवारी दिन मिलेपनि बज्राचार्यले आम उद्यमी व्यवसायीले भोग्नु परिरहेको समस्या र पीडालाई बुझ्न नसक्ने उद्यमी व्यवसायीहरुको भनाई रहेको छ । 

आम उद्यमी व्यवसायीमाझ बज्राचार्य खासै घुलमिल नभएका र जातीय मत आकर्षित गर्न कसरत गरेपनि चिनजानको अभावमा त्यसले काम गरिरहेको छैन । यसले गर्दा बज्राचार्यप्रति मतदाताहरु आकर्षित भएका छैनन् । चिनेजानेकाले जागिरदार कसरी संस्था चलाउन भनेर सोध्ने गरेको भन्दै प्यानलमा रहेका अन्य पदाधिकारीहरु एक्ला एक्लै मतदाता रिझाउन व्यस्त देखिएका छन् । शुरुमा प्यानल चयन गर्दा नै हतासा देखिएका बज्राचार्यको प्यानलमा व्यवसाय छाडेर अन्य पेशामा संलग्न रहेकाहरुको बाहुल्यता रहेको छ । 

अर्का उम्मेदवार वर्तमान महासचिव रुपकमान महर्जन पनि विवादमुक्त उम्मेदवारका रुपमा भने देखिएका छैनन् । घरजग्गा सम्बन्धि कारोवार गर्ने रुपकमान महर्जनको व्यवसाय नै बन्द छ । संघको महासचिवको भूमिकामा रहंदा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेका महर्जन राजनीतिक दलको फेर समातेर संघको नेतृत्व हत्याउने दाउमा छन् ।

महर्जनले हालको कार्यकालमा अपेक्षाकृत कार्य, मेड इन ललितपुर ब्राण्डिंग र हस्तकला नगरी स्थापना कार्यमा अपेक्षित उपलब्धि ल्याउन नसकेको चर्चा हुन थालेको देखिन्छ । महर्जन भएको जातिय लाभ लिन कसरत गरेपनि महर्जनहरुमाझ उनी खासै लोकप्रिय छैनन् । यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारले कसरी मतदातालाई आफ्ना कुराहरु राखेका छन् त्यो पनि महत्वपूर्ण हुन जान्छ । 

उता स्वतन्त्र उम्मेदवार ताम्राकार दुई संस्थाको अध्यक्ष बन्नुहुन्न भन्ने मान्यताले दुई कार्यकाल पर्खिएर स्वतन्त्र उम्मेदवार बनेका छन् भने अर्कातर्फका उम्मेदवारहरु दुबै क्रमश साथसाथ एनजिओ र आर्ट भिलेज लगायत विभिन्न संस्थामा महत्वपूर्ण जिम्मेवार पदमा छन् । 

दुवैजनाले प्यानलसहित टीमका कुरा र आफ्ना घोषणा पत्रमा महत्वाकाँक्षी योजना ल्याए पनि बज्राचार्यको प्यानलमा अधिकांश आफ्ना ब्यवसायमा भन्दा अन्य पेशामा बढी सक्रिय रहेको कारण संघको बारे परिपक्वता नदेखिएको चर्चा उद्योगी, व्यवसायीहरुमा चलेको छ । योग्यता, क्षमता र अनुभवका हिसाबले ताम्रकार उपयुक्त पात्र भएपनि स्वतन्त्र व्यक्तिले कसरी चुनाव जित्लान् भन्ने प्रश्नमा दुवै प्यानलबाट जो विजयी भएपनि सबैसंग मिलेर काम गर्ने उद्देश्यले प्यानल बनाउने परम्परालाई तोडेर उम्मेदवारी दिएको बुझिएको छ ।

राजनीतिक दलहरुलाई गोटी बनाएर उम्मेदवार बनेका बज्राचार्य र महर्जनसंग स्वतन्त्र उम्मेदवार बनेका ताम्राकारको प्रतिस्पर्धा कस्तो हुनेछ भनेर हेर्न २० गतेको निर्वाचनको प्रतिक्षा गर्नुपर्ने हुन्छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.