काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।
व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।
जेठका लागि २० मध्ये ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् प्रभु, ग्लोबल आइएमई र एनआइसी एशियाले बढाएका छन् । ८ बैंकले भने वैशाखकै ब्याजदर यथावत राखेका छन् ।
ग्लोबल र प्रभुले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपमा ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, एनआइसीले व्यक्तिगतमा ०.०५ प्रतिशत बिन्दु र संस्थागतमा ०.१० प्रतिशत बिन्दुले बढाएको छ ।
जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।
वैशाखको तुलनामा जेठमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.०७ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०४ प्रतिशत बिन्दुले घटाएका छन् । वैशाखमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७.०७ प्रतिशत रहेकोमा जेठमा घटेर ७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर वैशाखमा ५.८७ प्रतिशत रहेकोमा जेठमा ५.८३ प्रतिशतमा झरेको छ ।
जेठमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.१४ प्रतिशतसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ७.८० प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार आठौं महिना हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।