ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले सुवर्ण शम्शेर राणाको पहलमा दोस्रो बजेट आएदेखि नेपालको बजेट खर्च प्रणाली व्यवस्थित रुपमा चलेको वताएका छन् ।
बुधबार ललितपुरमा आयाेजित सुवर्ण स्मृति परिषदको १० औं वार्षिक साधारणसभामा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य राणाले सुवर्ण शम्शेर सम्भ्रान्त परिवारमा जन्मिएर पनि सबै सुखसयल छोडेर देश, जनता र समाजवादका लागि आन्दोलनमा लाग्नु भएको महान् राजनेता भएको वताएका हुन् ।
“सुवर्ण शम्शेर एक महत्वपूर्ण भिजिनरी राजनेता हुनुहुन्थ्यो, नेपाली काँग्रेस पार्टीलाई आर्थिक सहयोगका अलवा २०१७ साल पौष १ गते पछि कार्यवाहक अध्यक्ष भएर पार्टीका कार्यकर्ता संरक्षणमा धेरै अतुलनीय काम गर्नु भएको छ । सुवर्ण शम्शेरको पहलमा दोस्रो बजेट आएदेखि नेपालको बजेट खर्च प्रणाली सिस्टममा चलेको हो । उहाँ राणा परिवारको भएरपनि सामन्ती राणा शासन कसरी ढाल्ने भन्नेमा काँग्रेस सुवर्णकै नीतिमा अगाडि बढेको थियो ।” केन्द्रीय सदस्य सदस्य राणले भने ।
उनले परिषदलाई नेपाली काँग्रेस पार्टी र परिवारलाई जोडेर सुवर्ण स्मृति प्रतिष्ठानका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । उनले पार्टीभित्र र पार्टी बाहिर सुवर्ण शम्शेरको योगदानको बारेमा व्याख्या र बहस चलाउँदै सुवर्ण शम्शेरलाई चिनाउनु आवश्यक रहेको धारणा राखे ।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले सुवर्ण शम्शेर नभएको भए २००७ सालको क्रान्ति सफल हुँदैनथ्यो भन्ने धारणा राखे ।
“सुवर्ण शम्शेर सम्पन्न परिवारको व्यक्ति हुँदाहुँदै पनि आफ्नो जग्गा राष्ट्रलाई दिएर समाजवादी आन्दोलनमा सहयोग गर्नुभयो । उहाँ सिद्धान्तनिष्ठ महान प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो ।” केन्द्रीय सदस्य श्रेष्ठले भने ।
नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले पार्टीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका गर्ने महान राजनेताको कार्यक्रमलाई हरेक वर्ष भव्यताका साथ गरिनुपर्ने भन्दै पार्टीसंग पनि पर्याप्त छलफल र समन्वय गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख तथा नेपाली काँग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाँलले नयाँ पुस्तामा सुवर्ण स्मृति प्रतिष्ठानका कार्यक्रमहरु पुर्याउनु पर्ने र सुवर्ण शमशेरले गरेका योगदानको चर्चा र परिचर्चा गर्नुपर्ने धारणा राखे।
साधारणसभामा परिषदका महासचिव श्रीभद्र ओझाले परिषदले गत वर्ष सञ्चालन गरेका कार्यहरुको प्रगति विवरण र आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुवर्ण स्मृति परिषदका अध्यक्ष अध्यक्ष उद्धव ढुंगानाले आगामी दिनहरुमा सुवर्ण स्मृति प्रतिष्ठानले उहाँका योगदानका बारेमा वृहत छलफल तथा अन्तरक्रियाहरु सञ्चालन गर्ने जानकारी गराए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।