सप्तरी । जिल्ला अदालत सप्तरीले झुटा विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ पुर्जी जारी हुनेमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किसोरकुमार रामसहित चार जना कर्मचारी, जिल्ला प्रहरी कार्यालय सप्तरमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन जना प्रहरी कर्मचारी छन्।
यस्तै, राजविराज नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उदीत नारायण यादव, वडासचिव हरिनारायण यादवसहित २६ जनामाथि पुर्जी जारी भएको छ।
२०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता सम्बन्धी मुद्दाको अभियोग पत्रमा प्रतिवादी बानाइकामध्ये २६ जना फरार भएको भन्दै पक्राउ पुर्जी जारी हो।
सप्तरी जिल्लाको साविक फर्सेठ गाविस ७ हाल राजविराज नगरपालिका वडा नम्बर ११ का सूर्यनारायण यादवले झुटो विवरण दिई आफ्ना नाती पर्ने सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बानाएको र बनाउन सघाएको आरोपमा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले वैशाख ३१ मा आरोप पत्र दायर भएको थियो।
२८ जनामध्ये प्रहरी नियन्त्रणमा रहेका सूर्यनारायण र सतिश अदालतको आदेशमा जनही १ लाख धरौटी बुझाएर रिहा भएका छन्।
२०८० जेठ १ गते बयान र थुनछेकका लागि अदालतमा उपस्थित गराइएको थिय । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङगनामको इजलासले आरोपितमध्येका सूर्यनारायण र सतिशलाई जनही एक लाखका दरले धरौटी लिई तारेखका छाड्न २०८० जेठ १ गते आदेश दिएको थियो । दुबै जना धरौटी बुझाई तारेखमा छन् ।
मुद्दामा प्रतिवादी बनाइएका प्रशासन कार्यालयका कर्मचारी, प्रहरी, वडाध्यक्ष, वडा सचिव, मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिसहित २६ जना फरार रहेको भन्दै अदालतले उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी गरिएकाहरुमा नागरिकताको लागि सिफारिस गर्नेदेखि, मुचुल्कामा हस्ताक्षर गर्ने तथा नागरिकता जारी गर्ने कार्यमा संलग्न कर्मचारी रहेका छन् ।
सूचना अधिकारी पोखरेलका अनुसार फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किसोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल छन्।
यस्तै राजविराज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उदितनारायण यादव र वडासचिव हरिनारायण यादव, सर्जमिन मुचुल्कामा बस्ने प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डल छन् ।
सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरु समेत मुद्दामा प्रतिवादी रहेकाले उनीहरुमाथि पनि पक्राउ पुर्जी जारी भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।