काठमाडौं । भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । गहुँ निर्यातका लागि कोटा निर्धारण गर्दै उक्त अनुमति दिएको हो ।
भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो ।
नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए ।
नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।
त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउनसमेत भनेको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महङ्गो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।
भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।