काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका २०० जना नवनियुक्त अधिकृतलाई १० दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणका प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए। उनले विभिन्न प्रक्रियापश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए।
श्रेष्ठले अरु ६०० भन्दा बढी सहायकस्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकको उत्पादकत्व बढ्ने उल्लेख गरे। कार्यक्रममा श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा २०० जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएको थियो।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।