add

पौडेलको छैटौँ पटक संसद् यात्रा






ActPro Nepal

|

८ मंसिर, २०७९

|
479

काठमाण्डौं । दमौली, ८ मङ्सिर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेलले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ २ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

वरिष्ठ नेता पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ १ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गरेका हुन् । यसका लागि पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गरे ।

कुल ६६ हजार एक सय ५८ मत खसेकामा खसेको कुल मतमध्ये चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताएका छन् । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।

पौडेल २०४८ सालमा तनहुँ १ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् ।

उनले सभामुखको जिम्मेवारी पनि निभाएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक÷एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।

नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै, निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । महतले १५ हजार छ सय ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी भएका छन् । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.