add

मच्छिन्द्र खकुरेल, काठमाडौं क्षेत्र नम्बर ८ (ख)बाट स्वतन्त्रतर्फ प्रदेशसभा उम्मेदवार






ActPro Nepal

|

५ असोज, २०७९

|
581

काठमाडौं । लामो समय देखि विभिन्न सामाजिक एवं व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएका मच्छिन्द्र खकुरेलले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको प्रदेशसभा निर्वाचनमा बाग्मती प्रदेश अन्तरगत काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली जनताहरुमा खुसी, शान्ति र दिगो समृद्धिका बहुआयामिक पक्षहरुलाई व्यवस्थित तवरले अघी बढाउने मान्यता सहित आफूले प्रदेशसभामा उम्मेदवारी दिन लागेको खकुरेलले बताएका छन् ।

अहिले सम्म कुनै पनि प्रमुख राजनीतिक दलले मुलुकको हित हुने गरी परिवर्तनको पक्षमा काम गर्न नसकेको दावी गर्दै अबको नेतृत्व राम्रो भिजन भएका व्यक्तिले लिनुपर्ने स्थितिलाई विचार गर्दै आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको उनी बताउँछन् ।

संघीयतासँगै ३ तहको सरकारको परिकल्पना गरिएकोमा संघ र स्थानीय तह बढी प्रभावकारी भएपनि प्रदेश सरकारले जनताको मन जित्ने गरी प्रभावकारी तवरले काम गर्न नसकेको कारण अहिले प्रदेश सरकारको औचित्यलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको खकुरेल बताउँछन् । आगामी दिनमा प्रदेश सरकार राज्यको लागि भार नबन्ने बरु यसको औचित्यतालाई पुष्टि हुने गरी नयाँ–नयाँ कार्यक्रमहरु अघी बढाई मुलुकलाई छिटो समृद्ध बनाउनमा सहयोग पुग्ने गरी काम गर्न केन्द्रित हुनुपर्ने उनको तर्क छ ।

भौगोलिक रुपमा सुगम बाग्मती प्रदेश नेपालको राजधानी प्रदेश समेत रहेको, यहाँ प्राकृतिक स्रोतसाधनको उपलब्धता एवं क्षमतावान् युवाहरुको ठूलो सङ्ख्यामा बसोबास रहेको, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्जालयुक्त प्रशासनिक कार्यालयहरु, संघसंस्था एवं कुटनीतिक निकायहरु समेत यसै प्रदेशमा ठूलो सङ्ख्यामा अवस्थित रहेको लगायतका कारण अन्य प्रदेशको तुलनामा यहाँ सजिलै उपलब्धि हासिल गर्न सकिने स्थिति समेत छ । बाग्मती प्रदेशमा ठूला उद्योगहरु स्थापनाको लागि समेत राम्रो सम्भावना रहेको छ । मुलुकमा विकास भएका एवं बाहिर विकास भई आयात गरिने प्रविधिलाई सबैभन्दा पहिले बाग्मती प्रदेशमा भित्र्याई अन्य क्षेत्रमा उपलब्ध गराइने स्थिति रहँदै आएको र आगामी दिनमा पनि औद्योगिकीकरणको लागि सबैभन्दा सहज बाग्मती प्रदेशमा नै हुने भएकोले मुलुकको समृद्धिमा बाग्मती प्रदेशको भूमिका सबैभन्दा महत्वपूर्ण रहनेछ । यसको लागि प्रदेश सरकारले उचित नीतिगत व्यवस्था गरी ती नीतिहरुको कार्यान्वयनमा विशेष जोड दिनुपर्छ, खकुरेलले आफ्नो धारणा व्यक्त गरे ।

बाग्मती प्रदेशमा भएको विकासको सन्देश सिङ्गो नेपालभर प्रवाह हुने कारणले समेत बाग्मती प्रदेशलाई सबैभन्दा पहिले समृद्ध प्रदेशको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको समेत खकुरेल तर्क गर्छन् ।

यसैकारण बाग्मती प्रदेशको औद्योगिकरण, व्यापक रोजगारी सृजना, दिगो विकास एवं उद्यमशिलता जागरण लगायतका विभिन्न क्षेत्रमा हुने कामलाई छिटो र झण्झटमुक्त तवरले कानुनी दायरामा रही सम्पादन गर्न एवं अन्य सम्बन्धित निकायहरुमा पनि आवश्यक दबाब सृजना गर्नको लागि समेत आफ्नो विजय महत्वपूर्ण रहने खकुरेल दावी गर्छन् ।

सबै नेपालीको चाहना सुशासन, न्याय र पारदर्शितासँगै समृद्धि नै रहेकोले त्यो लक्ष्य हासिल गर्नको लागि आफू जनताहरुको सेवकको रुपमा निरन्तर खटिने खकुरेलको दाबी छ ।

युवालाई अब कसैले रोक्न सक्दैनन्

अहिले सम्म नेपालका सबै ठूला राजनीतिक दलहरुले युवाहरुलाई उचित स्थान दिन नसकेको प्रति विमति जनाउने खकुरेल आगामी दिनमा ऊर्जाशिल क्षमतावान् युवाहरुलाई नेतृत्वमा आउन कसैले रोक्न नसक्ने समेत बताउँछन् । नेपालको विकासलाई थप प्रभावकारी बनाई लक्षित उपलब्धि हासिल गर्न युवाशक्तिको भूमिका विशेष महत्वपूर्ण रहनेमा समेत उनी जोड दिँदै आएका छन् ।

खकुरेल नेपालको राजनीतिलाई लामो समय देखि नजिकबाट बुझ्दै आएका व्यक्ति हुन् ।यसको अलावा उनी लामो समय देखि व्यावसायिक क्षेत्रमा समेत संलग्न रहँदै आएका छन् । वि.सं २०६२ मा पर्यटन क्षेत्रमा जोडिएका खकुरेल हाल कस्मेटिक व्यवसायमा संलग्न छन् ।

कस्मेटिक क्षेत्रका व्यवसायीहरु समेटिएको संस्था नेपाल कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष समेत हुन् उनी । निकट भविष्यमा स्वदेशी जडिबुटीमा आधारित गुणस्तरीय कस्मेटिक सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनको योजनामा समेत रहेका खकुरेल नेपाल सम्भावना नै सम्भावनाले भरिएको देशको रुपमा रहेको तर्क गर्छन् । साथै यहाँ मुलुकको नेतृत्व गर्ने व्यवस्थापन पक्ष राम्रो बन्न सकेको खण्डमा नेपाललाई समृद्ध मुलुक बन्न लामो समय नलाग्ने समेत उनी बताउँछन् ।

पछिल्ला दिनहरुमा नेपाली जनताहरुले परिवर्तनको लागि राजनीतिक दलको विकल्प खोजी गरिरहेका छन् । यस्तो स्थितिमा आफूलाई पनि आफ्नो क्षमता र भावी योजनाहरुलाई बुझेर मतदाताहरुले मतदान मार्फत विजयी बनाउनेमा आशावादी छन् खकुरेल । साथै देशभरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका क्षमतावान् व्यक्ति पहिचान गरेर मतदान गर्न समेत सम्पूर्ण नेपालीहरुलाई खकुरेल आग्रह गर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.