add

किसानको लाखौँ रुपैयाँ ठगेर भागे डेरी व्यवसायी






ActPro Nepal

|

६ साउन, २०७९

|
796

पाँचथर। पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन्। फिदिम नगरपालिका-३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन्। कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन्। 

सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन्। व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्विचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन्।

हमालले फिदिम नगरपालिका-२, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका-१, ३, ४ लगायत वडाका सयौँ कृषकको दूध सङ्कलन गरी घ्यु र छुर्पी उत्पादन गर्दै आएका थिए। उत्पादित दुग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा बिक्री गर्दथे।

कृषकबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री फिदिममा बिक्री गरी ६५ लाख रुपैयाँ कृषकलाई वितरण गर्न भनी लगेपछि उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजाल लगायतले प्रहरी उजुरी दिएका हुन्। हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप १६ लाख, अन्य व्यवसायी तथा कृषकबाट समेत लाखौँ रुपयाँ लिइ हमाल फरार भएको निवेदकले जनाएका छन्।

व्यवसायी रिजाल, फिदिम-२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम-३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिँजो निवेदन दिएका हुन्। व्यवसायी हमाल फरार भएको भनी प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुवात गरेको पाइएको छ। उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बरसमेत लिएको पाइएको हो।

कृषकले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन्। फिदिममा व्यवसाय सुरुवात गरेको छोटो समय भए तापनि स्थानीय डेरीमा बिक्री हुनेभन्दा प्रतिलिटर पाँच रुपैयाँ बढी दिने आश्वासन दिइ हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएको बुझिएको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.