काठमाडौं। पछिल्लो समय आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको एनआइसी एशिया बैंकले खुद नाफामा छलाङ मारेको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३९.३८ प्रतिशतले बढाउन सफल भएको हो ।
बैंकले गत वर्षको असार मसान्तसम्म कुल ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ अर्ब १ अर्ब २८ अर्ब बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब २५ करोड खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशत बढेर ११ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी २५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३३.५९ प्रतिशत बढेको छ।
हाल ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ७४ करोड र रिटेन्ड अर्निङमा ३ अर्ब ८४ करोड संचित छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा एनआइसीले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको छ । गत आवमा बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ ।
समीक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर ३९.१३ रुपैयाँ पुगेको छ ।निष्कृय कर्जा असुलीमा बैंकले ठूलो सफलता हात पारेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा जम्मा ०.४९ प्रतिशत मात्र छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८६.२६ प्रतिशत, प्रतिसेयर नेटवर्थ २१७.५२, बेसरेट ९.२५, स्प्रेडदर ४.४ र मूल्य आम्दानी अनुपात १७.७९ प्रतिशत रहेको छ ।
त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर १ क्यापिटल एडेक्वासी रेसियो ८.९३ प्रतिशत कायम गरेको छ ।बैंकले गत वर्ष मात्रै १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै कुल खाता संख्या ४० लाखभन्दा बढी पुर्याएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।