add

३२ लाख असुलेर यौन शोषण गर्ने मिटरब्याजी आरोपित दिदीभाइ थुनामा






ActPro Nepal

|

२२ असार, २०७९

|
1087

सप्तरी । धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी बुधबार पुर्पक्षका लागि थुनामा पुगेका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ। 

मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो। सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन्। रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ। आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो। पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो।

पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए।

मिटरब्याजी रामदेवबाट रु १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका-२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। पीडितका अनुसार रु १० लाख ऋणको साहुकार रामदेवले रु ३२ लाख असुलेर यौनशोषणसमेत गरेका छन्। 

पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन्। रामपुर–जमुवाको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कठ्ठा, कित्ता नम्बर ४३ को सात कठ्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कठ्ठा सात धुर जग्गा साहुकार तेलीले फिर्ता नगरेको पीडितले बताएका छन्। 

पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए । घर नजिकै जग्गा किन्ने विषयमा श्रीमान्‌ले सहमति दिएपछि साहुकार रामदेवसँग रु १० लाख ऋण लिएर पीडितले सात कठ्ठा ११ धुर जग्गा किन्नुभएको थियो। नयाँ किनेको जमिनसहित उहाँको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन्। 

वैदेशिक रोजगारमा रहेका श्रीमान्ले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताएका छन्। ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले रु १० लाखको रु ३२ लाख असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताउनुभयो। ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताएका हुन्। 

न्यायका लागि गत मङ्सिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताए। उनले मङ्सिर १३ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएकोमा कारबाही अगाडि नबढेपछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएका थिए।

उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो। न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो। 

गृहमन्त्रालायको निर्देशनपछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न नौ जना नागरिकमाथि ज्यादती गरेको घटना पत्ता लागेको जनाएको छ । सप्तरीमा मिटरब्याजीबाट पीडित क्रमशः सार्वजनिक हुँदै गएको कारबाहीको उजुरी थपिँदै गएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.