ललितपुर । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ ।
ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित सम्बन्धित पालिकामा पठाइएको उनले जानकारी गराए । महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका कर्मचारी आवश्यक मतदान सामग्रीसहित मतदानस्थल तर्फ गएको र नजिकै रहेको गोदाबरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मतदानस्थलमा खटिने कर्मचारीलाई पनि सोमबार र मंगलबारसम्ममा सबै सामग्रीसहित मतदान केन्द्रमा खटिइसक्ने उनले उल्लेख गरे ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमला घिमिरेले मतदानस्थलमा खटिने कर्मचारी सोमबारनै सवारीसाधनको व्यवस्था गर्दै निर्वाचन सामग्री लिएर कार्यस्थलमा गएको बताईन । उनले ५८ प्रकारका मतदान सामग्रीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा पठाइएको जानकारी दिईन ।
मंगलबार प्रत्येक पालिकामा निर्वाचन अधिकृतसहित सर्वदलीय बैठक राख्ने, तीन दिन अगावै सूचना टाँस गर्नेलगायत आयोगले तोकेको काम गर्न निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थलमा पुगेर सबै तयारीमा लाग्ने उनले भनिन् । ललितपुरमा रहेका कूल १३१ मतदानस्थल र २८८ मतदान केन्द्रमा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाचनको तयारी पूरा गरेको घिमिरेले जानकारी दिईन ।
निर्वाचनका लागि ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कर्मचारी, एक सहयोगीका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जनाए ।
आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको उनले बताएका छन् । कार्यस्थलमा खटिएका कर्मचारीलाई दुई दिनको तालिमसमेत दिएर परिचालन गरिएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।