विराटनगर । प्रदेश नं-१ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एक रुपता ल्याइने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा सोमबार आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज र सरल गराउन आगामी चैत १ गतेदेखि अनलाइन सेवा सुरु गरिने जानकारी दिँदै उनले सहरलाई सुन्दर र दुर्घटना मुक्त बनाउन ट्राफिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री घिमिरेले ट्राफिक प्रहरीले संकलन गरेको राजस्व प्रदेशमै खर्च गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको भन्दै ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीका मागलाई सम्बोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले कोसीदेखि मेची र रानीदेखि सुनसरीको तरहरासम्मको राजमार्गमा सिसी क्यामेरा जडान गर्न रकम निकासा भइसकेको जानकारी दिए ।
यातायात व्यवस्था तथा सञ्चार सचिव जयकुमार घिमिरले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या निराकरण गर्न मन्त्रालयले जिम्मेवार भएर काम गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकातिर सडक विस्तार र अर्को तिर साँधुरो सडकमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जानकारी दिए ।
उनले सडक सुशासन र सडक सुरक्षा भरपर्दो भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै ट्राफिकले संकलन गरेको राजस्व नागरिक सुरक्षामै खर्च गर्ने व्यवस्था हुनुपर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रको ट्राफिक समस्या समाधानका लागि पार्किङ गर्ने जग्गाको व्यवस्था गरिने बताए।
ट्राफिक प्रहरी प्रमुख चन्द्र खड्काले मोरङमा जम्मा ११४ ट्राफिक प्रहरीमध्ये विराटनगर क्षेत्रमा ६४ जना कार्यरत रहेको भन्दै सडक दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापनमा जनशक्ति कम रहेको जानकारी दिए ।
उनले गएको वर्षमा ४ करोड २० लाख र चालू आर्थिक वर्षको अहिलेसम्म २ करोड ७१ लाख राजस्व संकलन गरिसकेको जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्णरहेको, सवारी साधनको कमी रहेको, मापसे जाँच गर्ने उपकरण एकमात्र रहेको, रफ्तार जाँच गर्ने उपकरण नभएको जस्ता समस्या अवगत गराएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।