काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको बाँसबारी क्लबविरुद्धको खेलमा सरस्वती युथ क्लबले विजयी सुरुआत गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा सरस्वतीले ३–१ अन्तरले जित निकाल्यो ।
पहिलो खेलमै जित निकाल्ने क्रममा सरस्वतीका लागि विक्रम बिसुन्के, सृजन लामा र भुपेन्द्र शाहीले समान एक÷एक गोल गरे । बाँसवारीका विक्की राईले सान्त्वना गोल फर्काए । खेलको छैटौँ मिनेटमा विक्कीले बाँसवारीलाई अग्रता दिलाए । २१औँ मिनेटमा बिक्रमले गोल गर्दा अघिल्लो सिजन–०७६ मा ‘ए’ डिभिजनबाट घटुवा भएको सरस्वतीले बराबरी गोल गर्यो ।
८७औँ मिनेटमा शृजन र ९० मिनेटपछिको ईन्जुरी समयमा भुपेन्द्र शाहीको गोलसँगै सरस्वतीले पहिलो खेलमै तीन अंक जोड्न सफल भयो । आजनै भएको पहिलो खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई समान अन्तरले पराजित गर्यो । आजै हुने अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाईज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१४ क्लब सहभागी लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली सी डिभिजन लिगमा घटुवा हुने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।