add

लिगमा खराब प्रदर्शन, मोफसलमा प्रतिष्ठित उपाधि






ActPro Nepal

|

१६ माघ, २०७८

|
1073

काठमाडौं । कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो । जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो । एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा तीन खेल खेलेको मनाङले आहा रारामा पनि तीनै खेल खेल्यो । पाँच खेलमा लगातार जित निकालेको मनाङले घरेलु दर्शकमाझ छैटौं खेलमा भने अपराजित यात्रा कायम राख्न सकेन ।  

निर्धारित ९० मिनेट र त्यसपछिको समयमा २-२ गोलको बराबरी भएपछि मनाङ पेनाल्टी सुटआउटमा एपीएफसँग ५-४ ले पराजित भयो । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलो उपाधिसहित कीर्तिमानी सातौँ पटक उपाधि चुम्नबाट बञ्चित भयो । यता, जारी शीर्ष डिभिजनको लिगमा खराब प्रदर्शनसँगै रेलिगेसन जोनबाट बच्न संघर्ष गरिएको एपीएफले भने प्रतियोगितामा आफ्नो अपराजित यात्रा चौथो खेलसम्म राख्दै उपाधि नै जित्यो । उपाधि अघि उसले आयोजक सहारा एकेडेमीसहित अमेरिकाबाट खेल्न आएको भुटनीज युथ स्पोर्टस् क्लब, लिग लिडर मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्‍यो । 

प्रतियोगिता जित्दा एपीएफलाई फाइदा के पनि रह्यो भने, राष्ट्रिय फुटबल टोलीले अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नु । यसका लागि एपीएफले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीलाई धन्यवाद पनि दिनुपर्छ । उनले प्रशिक्षणमा बोलाएका ३४ खेलाडी नै छाडेनन् । अब्दुल्लाहले दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली तयार पार्दा आहा रारामा सहभागी क्लबले आफ्ना महत्वपूर्ण खेलाडी मैदान उतार्नै पाएनन् । मछिन्द्रका सात खेलाडी र मनाङका चार खेलाडी राष्ट्रिय टोलीमा छन् । जसको फाइदा एपीएफले उठायो । एपीएफका आशिष लामामात्रै राष्ट्रिय टोलीमा छन् । 

जारी लिगको सुरूवाती चार खेलमा एक अंकसहित पुछारमा रहेको एपीएफ पाँचौ‌ं खेलमा जित निकाल्दा ११औं स्थानमा उक्लियो । नौं खेल खेल्दा हाल टोली १० अंकसहित नवौं स्थानमा छ । यो भनेको पुछारमा ३ अंकसहित रहेको फ्रेन्ड्स भन्दा सात अंक र १३औं स्थानमा रहेको च्यासल युथ (५ अंक) भन्दा पाँच अंकले माथि हो । जारी लिगका पुछारका दुई टोली दोस्रो डिभिजनमा झर्नेछन् । 

एपीएफका प्रशिक्षक कुमार थापा भने खेलाडीको मिहेनतले यो उपाधि हात पारेको बताउँछन् । उनी लिगमा कठिन अवस्थामा रहेको र त्यसका बाबजुद पनि खेलाडीले मेहनत गरेको कारण उपाधि हात पारेको मान्छन् । ‘लिगमा जहिले पनि गाह्रो अवस्थामा थियौं । खराब अवस्थामा मोफसलमा पहिलो उपाधि जित्यौं । यो खेलाडीको मिहेनतको फल हो,’ उपाधिपछि न्युज कारखानासँग बोल्दै उनले भने ।

हुन पनि हो, शीर्ष डिभिजन लिग ३ मंसिरबाट सुरु हुँदा सुरुवाती चार खेलमा एपीएफ जितविहीन रह्यो । चौथो खेलमा मात्र आएर एपीएफले अंक तालिकामा खाता खोल्यो । थ्री स्टारविरुद्ध एक अंक जोडेको उसले पाँचौं खेलमा अर्को खराब लयमा रहेको फ्रेन्ड्स क्लबलाई ३(१ ले पराजित गर्दै पहिलो तीन अंक जोड्यो । त्यसयता, नौ खेल खेल्दा एपीएफ ६ खेलमा अपराजित छ । समग्रमा जोड्दा लिग ६ र मोफसलमा ४ गर्दा एपीएफ १० खेलमा अपराजित छ । 

पछिल्ला खेलहरूमा राम्रो हुँदै जानुको पनि कारण छ, त्यो हो खेलाडीको मनोबल र विदेशी खेलाडी थपिनु । २०६३ सालमा ‘वाइल्ड कार्ड’ मार्फत सिधै शीर्ष डिभिजन लिग खेलेको एपीएपले कहिले पनि लिगमा ठूलो टिम बनाएन । अनि राम्रो स्थान पनि हासिल गरेन । यसपटक समेत सोही भयो, लगातार खराब प्रदर्शनपछि रेलिगेशन जोन । 

तर क्लबसँग एसियाली फुटबल महासंघ (एएफसी)का सम्पूर्ण मापदण्ड पूरा गरेका कारण ‘एएफसी क्लब लाइसेन्स’ थियो, यो भनेको विभागीय टोलीले पनि विदेशी खेलाडी राख्न पाउनु । एपीएफले पनि विदेशी खेलाडी राख्न प्रशासनमा दबाब थियो । तर नेपाली फुटबलमा कान्छो विभागीय रहेका कारण एपीएफले सुरुमा त साहस पनि गरेन । त्रिभुवन आर्मी फुटबल क्लबले लाइसेन्स पाए पनि विदेशी खेलाडी ल्याउन वास्तै गरेन । लगातार तीन पटक ए डिभिजन जितेको पुलिसले अझै लाइसेन्स पाएको छैन । 

यस्तो अवस्थामा प्रशिक्षक कुमार थापा एपीएफ प्रशासन रुझाउन लागे । जसमा उनलाई मिडियाले पनि सहयोग गरे । एन्फाले नगर्ने कुरा भएन । ‘लिगमा नेपाली खेलाडीबाट खेल्छौं भनेर ढुक्क थियौं । तर गोलरक्षक घाइते, डिफेन्स लगायत घाइते हुँदा हामी विदेशी खेलाडी लिनेमा पुग्यौं । विदेशी खेलाडीको आगमनसँगै टोलीले लय समातेको छ,’ मनाङलाई आफ्नो कप्तानीमा तीन पटक लिगको उपाधि दिलाएका सफल खेलाडी थापाले भने । 

हाल एपीएफमा तीन विदेशी खेलाडी छन् । जापानका गोलरक्षक युया कुरियामामालीका अडामा डोउम्बिया (चार खेल) र चाडका अर्माण्ड बेअमोउम, यी खेलाडीसँगै कप्तान टोप बहादुर बिष्ट र युवराज खड्का रिकवरी बाहिर आउनु एपीएफका लागि सुखद् पक्ष हो । गोलरक्षक यायाले लिगमा पाँच खेल खेल्दा दुई क्लिन सिट राखेका छन् । डिफेन्समा बाबजुद प्रदर्शन गरेका अडामाले चार खेल खेलका छन् भने अर्माण्डले एक खेल खेलका छन् ।

यी खेलाडीको आगमनसँगै एपीएफले आफ्नो लय समातेको छ र मोफसलमा एउटा उपाधि जितिसकेको छ । अब एपीएफले लिगका बाँकी चार खेलमा आफूलाई राम्रो स्थान दिने योजना बनाएको छ । साथै उसले आफ्नो अपराजित यात्रालाई १० बाट लम्ब्याउने लक्ष्य राखेको छ । अब, लिगका बाँकी खेलमा एपीएफले संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ । 

‘चार खेल छ । टप टोली छन् । यसमा हामी सचेत छौं । हामीले यहाँ (पोखरामा) मनाङ र मछिन्द्रलाई हराएको पनि छौं । त्यहाँ ९उपत्यकामा० हराउन सक्दैनौं भन्ने हुँदैन । खेलाडीमा मनोबल छ । हामी रेलिगेशन जोनबाट ढुक्क छैनौं, तर नकआउट प्रतियोगिता जित्दा मनोबल बढेको छ । हामी १० खेलमा अपराजित छौं । खेलाडीमा विश्वास पलाउनु त्यो ठूलो कुरा हो । अपराजित यात्रालाई कायम राख्न चाहन्छौ । यति गर्दा हामी बच्छौं पनि,’ थापा भन्छन् । 

एपीएफका पछिल्ला १० खेल र नतिजा 

थ्री स्टार क्लब ०-० एपीएफ फुटबल क्लब

फ्रेन्ड्स क्लब १-३ एपीएफ फुटबल क्लब

न्यरोड टिम एनआरटी ३-३ एपीएफ फुटबल क्लब

त्रिभुवन आर्मी फुटबल क्लब १-१ एपीएफ फुटबल क्लब

जावलाखेल युथ क्लब ०-० एपीएफ फुटबल क्लब

हिमालयन शेर्पा क्लब ०-१ एपीएफ फुटबल क्लब

सहारा एकेडेमी ०-२ एपीएफ फुटबल क्लब

भुटनीज युथ स्पोर्टस् क्लब १-३ एपीएफ फुटबल क्लब

मछिन्द्र फुटबल क्लब १-३ एपीएफ फुटबल क्लब

मनाङ मस्र्याङ्दी क्लब २-२ (४-५) एपीएफ फुटबल क्लब



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.