काठमाडौं। नबिल बैंकको खुद नाफामा सामान्य सुधार आएको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२० प्रतिशतले बढेको छ ।
बैंकले चालु आवको पुस मसान्तसम्ममा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड पुगेको छ ।
त्यस्तै, सञ्चालन मुनाफा ८.६० प्रतिशत बढेको छ । गत वर्षको सोेही अवधिको तुलनामा बैंकको इम्पेरमेन्ट चार्ज तेब्बरले बढेर ४० करोड १७ लाख रुपैयाँ पुगेको छ।
१८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्म बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफ बढे पनि बैंकको प्रतिसेयर आम्दानी ५.५३ रुपैयाँ घटेको छ । गत वर्ष २९.१२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २३.५९ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.०६ गुणा, खराब कर्जा १.११ प्रतिशत, आधारदर ७.३९ प्रतिशत र स्प्रेडदर ३.४४ प्रतिशत छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।