जनकपुर । धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूचीअन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताए । प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत बाँकी पदका लागि मतदान हुने जनाइएको छ ।
अन्तिम नामावली प्रकाशन भएपछि अहिले मतपत्र छपाउने काम भइरहेको र त्यो सकिएपछि मतदान सुरु हुने निर्वाचन समिति संयोजक गौतमले बताए ।
पार्टीको प्रदेश २ को नयाँ नेतृत्वका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादव र प्रदेश-२ संसदीय दलका नेता रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश समितिको विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेद्वारी परेको छ ।
जसमध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का ८ जिल्लाको ३२ संघीय निर्वाचन क्षेत्र र ६४ प्रदेश निर्वाचन क्षेत्र समेत गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।