काठमाडौं । नेपाली कांग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनिहरुको बिजयलाई पार्टीको भविश्यसंग जोडेर हेरिएको छ ।
युवा पुस्ताका लोकप्रिय दुई नेताहरु छुट्टा छुट्टै प्यानलबाट महामन्त्रीमा उमेद्वार बनेका थिए । तर, मतदाताले भने उनिहरुको जोडीलाई हल बाँधिदिएका छन् । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे । गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भएपनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाश चाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए ।
दुवै नेता कांग्रेसको प्रतिरक्षामा माहिर छन् । गगन थापा पुस्तान्त्रण र युवा सहभागिता संगै संसदमा उनले उठाउने बिषयबस्तुले निकै लोकप्रिय छन् भने विश्वप्रकाश पनि पार्टीको बचाउमा माहिर छन् । प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका शर्माले देउवाविरोधी हरेक प्रहारलाइृ खण्डन गरेर बचाउ गथ्र्यो ।
दुवै नेताको जितले कांग्रेसमा रुपान्त्रण हुने अपेक्षा गरिएको छ । उनिहरुको जित संगै आगामी महाधिवेसनबाट कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा नभई तेस्रो पुस्तामा आउने विश्लेषण गरिएको छ ।
को हुन् गगन थापा ?
युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका दुई छोरी छन् ।
२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने । २०५९–२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए ।
जनआन्दोलन २०६२–०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए । दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् ।
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन् ।
को हुन् विश्वप्रकाश शर्मा ?
युवा नेता शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।
२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित छन् ।
१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् । अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।
युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ’बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए । पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।